AI सारांश

मुख्य बुँदाहरू

  • प्रतिनिधिमूलक लोकतन्त्रमा एकपटक मत दिएपछि जनताले पाँच वर्षसम्म आफ्नो प्रतिनिधिको कामप्रति सन्तुष्ट वा असन्तुष्ट भए पनि पर्खनुपर्ने बाध्यता हुन्छ ।
  • यही अवस्थालाई लोकतन्त्रको कमजोरीका रूपमा औंल्याउँदै ‘राइट टु रिकल’ अर्थात् निर्वाचित प्रतिनिधिलाई कार्यकालअघि नै फिर्ता बोलाउने अधिकारको अवधारणा चर्चामा आउँदै गएको छ…
  • विशेषगरी, यदि कुनै जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भयो, जनअपेक्षाअनुसार काम गर्न सकेन वा जनहितविपरीत निर्णय गर्‍यो भने तत्कालै हटाउने कानुनी व्यवस्था नभएको अवस्थामा…
  • विश्वका केही देशहरूमा ‘राइट टु रिकल’ बहु–चरणीय प्रक्रियामार्फत अभ्यासमा छ ।
  • यसरी, ‘राइट टु रिकल’ लोकतन्त्रमा जनसहभागिता र उत्तरदायित्व बढाउने सशक्त औजारका रूपमा हेरिए पनि यसको कार्यान्वयनमा सन्तुलन र सावधानी आवश्यक देखिन्छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

प्रतिनिधिमूलक लोकतन्त्रमा एकपटक मत दिएपछि जनताले पाँच वर्षसम्म आफ्नो प्रतिनिधिको कामप्रति सन्तुष्ट वा असन्तुष्ट भए पनि पर्खनुपर्ने बाध्यता हुन्छ । यही अवस्थालाई लोकतन्त्रको कमजोरीका रूपमा औंल्याउँदै ‘राइट टु रिकल’ अर्थात् निर्वाचित प्रतिनिधिलाई कार्यकालअघि नै फिर्ता बोलाउने अधिकारको अवधारणा चर्चामा आउँदै गएको छ ।

विशेषगरी, यदि कुनै जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भयो, जनअपेक्षाअनुसार काम गर्न सकेन वा जनहितविपरीत निर्णय गर्‍यो भने तत्कालै हटाउने कानुनी व्यवस्था नभएको अवस्थामा ‘राइट टु रिकल’ प्रभावकारी विकल्पका रूपमा प्रस्तुत गरिएको छ । यसले जनप्रतिनिधिलाई सधैं जनताको निगरानीमा राख्दै थप जिम्मेवार र जवाफदेही बनाउने विश्वास गरिएको छ ।

तर, यस प्रणालीका केही चुनौतीहरू पनि छन् । बारम्बार ‘रि–कल’ प्रक्रिया प्रयोग हुँदा राजनीतिक अस्थिरता बढ्ने, शासन सञ्चालनमा अवरोध आउने र व्यक्तिगत वा राजनीतिक प्रतिशोधका कारण सक्षम प्रतिनिधि समेत हटाइने जोखिम रहेको विश्लेषकहरू बताउँछन् ।

विश्वका केही देशहरूमा ‘राइट टु रिकल’ बहु–चरणीय प्रक्रियामार्फत अभ्यासमा छ । सुरुवाती चरणमा निश्चित प्रतिशत मतदाताले हस्ताक्षर संकलन गरी रिकलको माग गर्छन् । त्यसपछि हस्ताक्षरको प्रमाणीकरण गरिन्छ र वैध ठहरिएमा पुनः मतदान गराइन्छ । यदि बहुमतले प्रतिनिधिलाई हटाउने निर्णय गरेमा सम्बन्धित पद खाली भई उपनिर्वाचन गरिन्छ ।

यसरी, ‘राइट टु रिकल’ लोकतन्त्रमा जनसहभागिता र उत्तरदायित्व बढाउने सशक्त औजारका रूपमा हेरिए पनि यसको कार्यान्वयनमा सन्तुलन र सावधानी आवश्यक देखिन्छ ।