सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो । प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले चौथो वरियताक्रममा रहेका शर्मालाई प्रस्ताव गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाँललाई पछि पार्दै शर्माको नाम सिफारिस गरिएको हो । न्याय परिषद्ले भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण अवकाश भएपछि सर्वोच्च अदालतमा नेतृत्वको जिम्मेवारी कायममुकायम रूपमा सम्हालिँदै आएको थियो । अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले औपचारिक रूपमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । नियुक्तिपछि डा. मनोज शर्मा नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नेछन् ।