AI सारांश

मुख्य बुँदाहरू

  • बैंक तथा वित्तीय संस्थाको चालुु आर्थिक वर्ष २०८१/८२ चैत्रसम्ममा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ ।
  • यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ ।
  • तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दतीमा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ ।
  • यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको छ ।
  • एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ भने यसमा औसतमा ५.७८ प्रतिशत…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडाैं, ३० वैशाख । बैंक तथा वित्तीय संस्थाको चालुु आर्थिक वर्ष २०८१/८२ चैत्रसम्ममा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । सो महिनासम्ममा नोपल राष्ट्र बैंकका अनुसार विभिन्न खातामार्फत् उक्त बराबरको रकम संकलन भएका हो ।

यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले औसत ब्याजदर ३.३९ प्रतिशत ब्याज दिँदै आएका छन् ।
यो अवधिमा मुद्दती खातामा २९ खर्ब ९८ अर्ब २९ करोड रुपैयाँ जम्मा भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसमा औसत ६.१० प्रतिशत ब्याजदर रहेको छ । अहिले तीन महिनाभन्दा कम अवधिको मुद्दती खाता खोल्न नपाउने व्यवस्था गरिएको छ । तीन महिनादेखि ६ महिनाभन्दा कम अवधिको मुद्दतीमा ५ खर्ब ७३ अर्ब ९९ करोड रुपैयाँ निक्षेप रहेको छ । यो खातामा बैंकहरूले औसत ४.२८ प्रतिशत ब्याज दिने गरेका छन् ।

यस्तै, ६ महिनादेखि एक वर्षभन्दा कम अवधिको खातामा ११ खर्ब ४१ अर्ब ७४ करोड रुपैयाँ निक्षेप रहेको छ । यो निक्षेपको औसत ब्याजदर ४.६८ प्रतिशत रहेको छ । एक वर्षदेखि २ वर्षभन्दा कम अवधिको लागि ५ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेको देखिन्छ भने यसमा औसतमा ५.७८ प्रतिशत ब्याज दिने गरिएको छ । २ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेपमा ७ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ निक्षेप छ । यस्तो मुद्दतीमा ९.७२ प्रतिशत ब्याज रहेको गरेको राष्ट्र बैंकको तथ्यांक छ ।

त्यस्तै, ब्याज पाउने संस्थागत बचत खाताको रूपमा रहेको कल डिपोजिटमा ४ खर्ब २ अर्ब ८१ करोड निक्षेप छ । यो खातामा १.२३ प्रतिशत औसत ब्याजदर दिने गरिएको छ । अहिले बैंक तथा वित्तीय संस्थाले कल डिपोजिटमा कुल निक्षेपको १० प्रतिशत भन्दा धेरै राख्न नपाउने र यस्तो ब्याज साधारण बचत खाताको न्यूनतम ब्याजदरको आधाभन्दा धेरै हुन नहुने भएकोले यसमा कम ब्याज देखिएको हो । ब्याज पाउने प्रकृतिको खातामा १ अर्ब ८६ करोड निक्षेप छ, त्यसमा २.३४ प्रतिशत ब्याजदर रहेको छ ।

यी बाहेक नन–इन्ट्रेस्ट बियरिङ अकाउन्ट ३ खर्ब ९२ अर्ब ६५ करोड, चल्ती खातामा ३ खर्ब ५० अर्ब ८५ करोड, मार्जिन खातामा ४१ अर्ब ७ करोड र ब्याज नपाइने अन्य खातामा ७२ करोड रुपैयाँ निक्षेप रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस अनुसार बैंक तथा वित्तीय संस्थाले ७ खर्ब ८५ अर्ब रुपैयाँ बराबरका निक्षेपमा कुनै पनि ब्याजदर प्रदान नगर्ने गरेको देखिएको छ । यो झन्डै कुल निक्षेपको १३ प्रतिशत हो ।

चैत मसान्तसम्मको औसत तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने ब्याजदरको औसत ब्याजदर ४.४५ प्रतिशत रहेको छ । यस्तो लागत पछिल्लो वर्ष निरन्तर घट्दै गएको देखिन्छ । फागुन महिनामा ४.५४ प्रतिशत, माघमा ४.६२ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, भदौमा ५.४८ प्रतिशत र साउनमा ५.६६ प्रतिशत रहेको देखिन्छ ।

यसअघि २०७९ पुसमा यस्तो औसत लागत ८.५१ प्रतिशत थियो । त्यो समयमा ३ महिना अवधिको मुद्दती खाताको ब्याजदर नै ११.४३ प्रतिशत रहेको थियो ।