पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा अहिले देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका हुन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बढ्दो मूल्यवृद्धिका कारण सिंगो  अर्थतन्त्रमा गम्भीर असर पारेको उल्लेख गरे ।

मन्त्री लम्सालले निर्माण सामग्री र इन्धनमा अस्वाभाविक भाउ बढेकाले पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा रहेको पनि जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालयको बजेट सीमाभन्दा करिव ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको छ ।  करिव यो तथ्यांक २० दिन अगाडिसम्मको भएको पनि उनले बताए ।

बैठकमा मन्त्री लम्सालले पुराना आयोजनाहरूमा भएको मूल्य समायोजन रोक्का र एक वर्षे आयोजनाहरूको कानूनी जटिलताबारे सरकार सचेत रहेको स्पष्ट पारेका छन् । राष्ट्र बैंकको वर्तमान मूल्य सूचकांकले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने स्वीकार गर्दै उनले सबै प्रकारका आयोजना र व्यवसायीलाई न्याय हुने गरी सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।