ललितपुर प्रहरी हिरासतभित्रको चरम लापरबाही र आर्थिक चलखेलको गम्भीर रहस्य बाहिरिएको छ। बैंकिङ कसुर, बीमा तथा सेयरको भित्री कारोबार र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका दीपक भट्ट र सुलभ अग्रवाललाई ‘राजसी सुविधा’ उपलब्ध गराइएको खुलासा भएपछि ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होबिन्द्र बोगटी छानबिनको दायरामा तानिएका छन्।
स्रोतका अनुसार, हिरासतमा रहेका अभियुक्तहरूलाई एसएसपी बोगटीकै ठाडो निर्देशनमा मोबाइल प्रयोग गर्ने छुट दिइएको थियो। राज्यको कानुन कार्यान्वयन गर्ने निकायका प्रमुखबाटै कानुनको धज्जी उडाउँदै अभियुक्तहरूलाई अवैध सुविधा उपलब्ध गराइएपछि प्रहरी प्रशासनभित्रै खैलाबैला मच्चिएको छ।
डीआईजीको नेतृत्वमा छानबिन समिति
यस्तो गम्भीर घटना सार्वजनिक भएपछि उपत्यका प्रहरी कार्यालयले तत्काल सक्रियता देखाउँदै डीआईजी ओम अधिकारीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। समितिले हिरासत व्यवस्थापनमा भएको चरम लापरवाही, सुरक्षा प्रबन्धको फितलो अवस्था र एसएसपी बोगटीको भूमिकामाथि सूक्ष्म अनुसन्धान थालेको छ।
“अभियुक्तलाई मोबाइल प्रयोग गर्न दिने छुट दिनु भनेको अनुसन्धानलाई नै प्रभावित पार्ने र कानुनको खिल्ली उडाउने काम हो,” प्रहरी स्रोतले भन्यो। हिरासतभित्रैबाट बाहिरी दुनियाँसँग सम्पर्क र सेटिङ मिलाउने सुविधा कसको इशारामा भयो भन्ने विषय अहिले विषय बनेको छ।
न्याय सम्पादनको प्रक्रियामा नै गम्भीर असर पर्ने गरी भएको यो हर्कतले प्रहरी सङ्गठनकै साखमाथि प्रश्न उठाएको छ। अब छानबिन समितिले एसएसपी बोगटीमाथि कस्तो कारबाही सिफारिस गर्ला? आम जनताको नजर यतिबेला सोही समितिको प्रतिवेदनमाथि टिकेको छ।
#LalitpurPolice #SSP_HobindraBogati #CustodyScandal #DeepakBhatta #SulavAgrawal #PoliceInvestigation #Corruption #shilapati online #BreakingNews #LawAndOrder

टिप्पणी गर्नुहोस्